काठमाडौँ ।
पाकिस्तानको पञ्जाब प्रान्तले विगत दशकमै सबैभन्दा भीषण बाढीको सामना गरिरहेको छ। यसबाट १४ लाख ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। भारी मनसुनी वर्षाले पाकिस्तानमा निरन्तर क्षति पुर्याइरहेको पाकिस्तानी पत्रिका डनलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम एएनआईले जनाएको छ।
शुक्रबार पाकिस्तानको कसुर जिल्लाको गण्डासिंह हेडवक्र्समा पानीको बहाव ३ लाख ८५ हजार क्युसेक नाघेर ‘अत्यन्तै उच्च’ स्तरमा पुगेको छ, जुन पछिल्लो ३० वर्षयताकै सबैभन्दा ठूलो बाढी हो। चुनियाँ तहसीलका नौ वटा गाउँहरू बाढीका कारण मुख्य सडकसँग सम्पर्कविहीन भएका छन् भने सेना र प्रहरीले स्थानीयवासीलाई सुरक्षित स्थलमा सार्ने कार्य थालेका छन्। पञ्जाब प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का महानिर्देशक इरफान अली काठियाले कसुर शहरलाई जोगाउन रहिमयार तटबन्ध जानाजानी फोडिएको पुष्टि गरेका छन्। यसैबीच, रावी नदीमा पनि पानीको बहाव उच्च स्तरमा पुग्दै दर्जनौं गाउँबस्तीहरू जोखिममा परेका छन्।
बाहावलपुर र मुल्तानका उपनगर तथा ग्रामीण बस्तीहरू पनि गम्भीर खतरामा रहेका छन्। सतलज र चेनाब नदीको पानीको सतह बढ्दै गएपछि बाहावलपुर नजिकै सतलजको किनारदेखि दुईदेखि तीन किलोमिटरभित्रका बस्तीहरू डुबानमा पर्ने आशंका गरिएको छ। सरकारले दशकमै सबैभन्दा ठूलो उद्धार तथा विस्थापन अभियान सुरु गरेको छ। हेड त्रिम्मु नजिक चेनाब नदीको सतह अझै बढ्ने अनुमान गरिएको छ। यसबीच, तटबन्ध फोडिएका कारण १ हजार ४ सय भन्दा बढी गाउँहरू डुबानमा परिसकेका छन्।
संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले आगामी सेप्टेम्बरको सुरुवातसम्म पनि वर्षा जारी रहने सम्भावना भएकाले थप बाढी, पहिरो र बाली नष्ट हुने जोखिम बढ्ने चेतावनी दिएको छ।
पाकिस्तान मनसुनी बाढीको दीर्घकालीन जोखिममा रहने देश हो। सन् २०२२ मा आएको विनाशकारी बाढीले १ हजार ७ सय भन्दा बढी मानिसको ज्यान लिएको थियो भने लाखौंलाई विस्थापित गरेको थियो। उक्त बाढीले पाकिस्तानमा करिब ४० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति पुर्याएको थियो।