काठमाडौँ ।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउबाले पर्वहरूको मौलिकता जोगाउनु सबैको सामूहिक दायित्व र जिम्मेवारी भएको बताएका छन्। गाईजात्रा पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले यस्ता पर्वहरूले नेपाली समाजको आस्था र परम्परागत मूल्यहरूलाई जीवित राखेको उल्लेख गरे।
शुभकामना सन्देशमा उनले नेपालका मौलिक पर्वहरू पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक पनि भएको बताएका छन्।
सभापति देउवाले लोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भाषाभाषी, धर्म–संस्कृति र परम्पराले समान अधिकार र अवसर प्राप्त गर्ने बताउँदै यसले सबै संस्कृतिको संरक्षण र संवद्र्धनमा महत्त्वपूर्ण योगदान पुऱ्याउने विश्वास व्यक्त गरे।
"सांस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि संरक्षण गर्दै, पर्वहरूको मौलिकता जोगाउनु सामूहिक दायित्व र जिम्मेवारी हो," उनले सन्देशमा भनेका छन्।