काठमाडौँ ।
इजरायलका प्रधानमन्त्री बेंजामिन नेतान्याहूले गाजा पट्टीलाई पूर्ण रूपमा कब्जा गर्ने प्रस्ताव सुरक्षा मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने तयारी गरेका छन् । स्थानीय सञ्चारमाध्यमहरूले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै यो निर्णय लगभग टुंगो लागिसकेको जनाएका छन्।
नाम नखुलाइएका ती वरिष्ठ अधिकारीले भने, “हामी गाजा पट्टीमा पूर्ण कब्जा गर्न गइरहेका छौँ। हामी हमासलाई परास्त गर्नेछौँ।”
यो योजनाप्रति सेना प्रमुख र अन्य सैन्य अधिकारीहरू विपक्षमा रहेको भन्ने रिपोर्टहरू सार्वजनिक भइरहेका छन्। यस सम्बन्धमा ती अधिकारीले कडा प्रतिक्रिया दिँदै भने, “यदि यो योजना सेना प्रमुख (चिफ अफ स्टाफ) लाई स्वीकार्य छैन भने, उहाँले राजीनामा दिनुपर्छ।” यसले इजरायली सरकार र सैन्य नेतृत्वबीच गहिरो मतभेद रहेको सङ्केत गरेको छ।
यसैबीच, नेतान्याहुको यो सम्भावित प्रस्तावलाई लिएर गाजामा बन्धक बनाइएकाहरूका परिवारले गहिरो चिन्ता व्यक्त गरेका छन्। सरकारको यो कदमले आफ्ना प्रियजनहरूको रिहाइ प्रक्रियामा असर पर्न सक्ने भन्दै उनीहरू चिन्तित बनेका हुन्।