काठमाडौँ, जेठ २७ ।
अस्ट्रियाको ग्राज सहरस्थित एक माध्यमिक विद्यालयमा मंगलबार भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको छ। यस घटनालाई देशको इतिहासकै सबैभन्दा ठूलो र भयानक गोलीकाण्डको रूपमा वर्णन गरिएको छ, जसको परिणामस्वरूप सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।
प्रहरीका अनुसार, विद्यालयका एक पूर्व विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको थियो। आक्रमणपछि, करिब २१ वर्षीय ती बन्दुकधारीले विद्यालयको शौचालयमा आफैँलाई गोली हानेर आत्महत्या गरे, जससँगै मृतकको सङ्ख्या ११ पुगेको हो। आक्रमणकारीले गोली चलाउन पेस्तोल र बन्दुक दुवै प्रयोग गरेको बताइएको छ।
गृहमन्त्री गेरहार्ड कर्नरका अनुसार आक्रमणमा ६ जना महिला र तीन जना पुरुषसहित दश जना निर्दोष नागरिकको ज्यान गएको छ। यस घटनामा अन्य १२ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ।
यो दुःखद घटनापछि अस्ट्रियाका शिक्षामन्त्री क्रिस्टोफ विडरकेहरले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द रहने बताउनुभएको छ। पीडितहरूको सम्मानमा बुधबार स्थानीय समयअनुसार बिहान १० बजे देशभर एक मिनेट मौनधारण गरिने कार्यक्रम तय गरिएको छ।