काठमाडौँ।
काठमाडौंको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले राष्ट्रिय स्तरको अन्तरक्याम्पस पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। ‘सम्पूर्ण विद्यार्थीहरु एकजुट होऔं’ भन्ने नाराका साथ ‘आरआर स्ववियु कप–२०८२’ आगामी भदौ २२ गतेदेखि सुरु हुनेछ।
६ दिनसम्म चल्ने उक्त प्रतियोगिता भदौ २७ गतेसम्म आरआर क्याम्पसकै प्राङ्गणमा आयोजना हुनेछ। प्रतियोगितामा देशभरका विभिन्न क्याम्पसका टोलीहरूले सहभागिता जनाउने स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले जानकारी दिएका छन। "भलिबलको माध्यमबाट विद्यार्थीहरूबीच आपसी सहकार्य, अनुशासन र एकता प्रवर्द्धन गर्नु हाम्रो मुख्य उद्देश्य हो," अध्यक्ष खड्काले भने, "यो प्रतियोगिताले विद्यार्थीहरूमा नेतृत्व विकास र राष्ट्रिय एकताको सन्देश फैलाउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ।"

प्रतियोगिताका विजेता टोलीहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले नगद ३ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी, द्वितीय हुने टोलीलाई २ लाख र तृतीय हुने टोलीलाई १ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
स्ववियु सचिव शैलेन्द्र उपाध्यायले विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमिमा खेलकुदमार्फत एकताको सन्देश दिन प्रतियोगिता आयोजना गरिएको बताए। "विद्यार्थीहरूले पढाइसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ भन्ने विश्वासका साथ यो कार्यक्रम अघि बढाएका हौँ," उनले भने, "प्रतियोगिता सफल बनाउन सम्पूर्ण विद्यार्थी, शिक्षक र शुभेच्छुकहरूलाई सहयोगका लागि अपिल गर्दछौँ।"
प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि २० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ। इच्छुक टोलीहरूले थप जानकारीका लागि ९८६५८६३२३५, ९८६०१३६६४२ वा ९८६८९०६६६८ मा सम्पर्क गर्न सक्नेछन्।