काठमाडौँ।
रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनामा परेको छ। सम्पर्कविहीन बनेको उक्त विमानको जलिरहेको भग्नावशेष खोजी टोलीले फेला पारेको रुसी अधिकारीहरूले जनाएका छन्।
‘आङ्गारा एयरलाइन्स’को एन्टोनोभ एएन–२४ मोडेलको विमान ब्लागोभेस्चेन्स्कबाट चीनसँग सीमा जोडिएको आमूर क्षेत्रको टिण्डा शहरतर्फ जाँदै गर्दा रडारबाट सम्पर्कविहीन बनेको थियो।

विमान बेपत्ता भएपछि हेलिकोप्टर र ड्रोन प्रयोग गरी खोजी कार्य थालिएको थियो। रुसको आपतकालीन मन्त्रालयका अनुसार, खोजीका क्रममा रूसी नागरिक उड्डयनको हेलिकोप्टरले विमानको जलिरहेको भग्नावशेष फेला पारेको बीबीसीले जनाएको छ।
आमूर क्षेत्रका गभर्नर भासिली ओर्लोभले टेलिग्राममार्फत् दिएको जानकारी अनुसार, प्रारम्भिक विवरणमा विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए। यात्रुमध्ये ५ जना बालबालिकासमेत रहेको बताइएको छ। तर, रूसी आपतकालीन मन्त्रालयले भने विमानमा करिब ४० जना मात्र सवार रहेको भन्दै यात्रुको संख्याबारे फरक विवरण दिएको छ, जसले गर्दा यकिन संख्याबारे अन्योल छ।
दुर्घटनामा परेको एएन–२४ विमान सन् १९६० को दशकमा निर्माण गरिएको सोभियतकालीन विमान हो। यस्ता पुराना विमानहरू अझै पनि रुस तथा पूर्व सोभियत संघका केही देशहरूमा दुर्गम क्षेत्रहरूमा यात्रु तथा सामान ढुवानीका लागि प्रयोग हुँदै आएका छन्। दुर्घटनाको कारण र यात्रुहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।