काठमाडौँ।
नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको एक फैसलाको विरोधमा कडा आन्दोलनको घोषणा गरेको छ। संघले आउँदो सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने निर्णय गरेको हो। स्वास्थ्य संस्थामा भएको लापरबाहीको विषयमा उपभोक्ता अदालतले चिकित्सक र अस्पताललाई क्षतिपूर्ति तिर्न आदेश दिएपछि संघ आन्दोलित भएको हो। संघले अदालतको यो निर्णयलाई ‘चिकित्सकीय अभ्यासमाथिको हस्तक्षेप’ भन्दै गम्भीर आपत्ति जनाएको छ।
संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार, आन्दोलनका कार्यक्रमहरू चरणबद्ध रूपमा अघि बढाइनेछ। संघले शुक्रबार नै देशभरका प्रमुख जिल्ला अधिकारीहरूमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइसकेको छ।
यसअन्तर्गत आइतबार देशभरका चिकित्सकहरूले आ-आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना दिनेछन् भने साउन २४ गते नेपाल मेडिकल काउन्सिलमा आफ्नो प्रमाणपत्र बुझाउने चेतावनीसमेत दिइएको छ।
चिकित्सक संघको यो आन्दोलनलाई स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य ९ वटा संघसंस्थाले समेत ऐक्यबद्धता जनाएका छन्। संघको यो निर्णयले सोमबार देशभरका हजारौं बिरामीको उपचार प्रभावित हुने देखिएको छ।