काठमाडौँ,असार ५ ।
लगातारको वर्षापछिको बाढी र पहिरोका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ-बुटवल सडकखण्ड बिहीबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै अत्यावश्यक बाहेक यात्रा नगर्न सूचित गरेको छ।
प्रहरीका अनुसार, केही दिनदेखिको अविरल वर्षाले विनयी खोलामा पानीको बहाव बढ्दा डाइभर्सनमा क्षति पुगेको छ। यसैगरी, दुम्कीबास-दाउन्ने सडक खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोला क्षेत्रमा सडक हिलाम्मे र चिप्लो हुँदा सवारी साधन फस्ने समस्याले आवागमन ठप्प भएको हो।
-सडक अवरुद्ध भएसँगै प्रहरीले सवारी साधनका लागि वैकल्पिक मार्ग निर्धारण गरेको छ:
-पूर्वबाट पश्चिमतर्फ जाने सवारी: नारायणगढबाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदै बुटवल।
-पश्चिमबाट पूर्वतर्फ आउने सवारी: बुटवलबाट स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै नारायणगढ।
-काठमाडौंबाट पश्चिम जाने सवारी: मुग्लिङ-पोखरा-स्याङ्जा हुँदै बुटवल।
साना सवारी साधनका लागि भने अवस्था हेरेर कालिगण्डकी करिडोरको गैंडाकोट-पिपलडाँडा खण्ड प्रयोग गर्न सकिने विकल्प दिइएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले विज्ञप्ति जारी गर्दै राजमार्ग सुचारु नहुँदासम्म धैर्य गर्न र तोकिएको वैकल्पिक बाटो मात्र प्रयोग गर्न सबैमा अनुरोध गरे।