काठमाडौँ,असार ४ ।
कैलालीको धनगढीस्थित कारागारमा एक कैदीको रहस्यमय मृत्यु भएपछि घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले उच्चस्तरीय समिति गठन गरेको छ। मृतकको परिवारले हत्या भएको आशंका गरेपछि घटनाले गम्भीर मोड लिएको हो।
बैङ्किङ कसुरको अभियोगमा असार १ गते पक्राउ परेका डडेलधुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिश पालीको मृत्यु भएको हो। उनलाई असार २ गते राति कारागारको बाथरुम नजिक अचेत अवस्थामा फेला पारिएको थियो। उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिए पनि उनको मृत्यु भएको थियो।
मृतक पालीको परिवारले भने उनको शरीरभरि चोटपटक र निलडाम देखिएको भन्दै हत्या भएको दाबी गरेको छ। मृतककी श्रीमती जानकी साउँदले यो एक योजनाबद्ध हत्या भएको आरोप लगाएकी छन्।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, कैलालीले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्।
समितिमा जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विभाग, र डडेल्धुरा उद्योग वाणिज्य संघका प्रतिनिधिसमेत सदस्य रहेका छन्।