काठमाडौँ,जेठ ३१ ।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले शुक्रबार शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालमा लगानी वृद्धि र रोजगारी सृजनामार्फत विकास लक्ष्य हासिल गर्न आपसी सहकार्य अभिवृद्धि गर्ने विषयमा केन्द्रित रहेर छलफल भयो।
भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि विश्व बैंकले तयार पारेको ६ वर्षे रणनीतिक सहकार्यको कार्यढाँचा (२०२५–२०३०) लाई स्वीकृत गरेकोमा धन्यवाद व्यक्त गरे। उनले दिगो विकास लक्ष्य हासिल गर्न र नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नतिका लागि बैंकको निरन्तर आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण रहने बताए।
सरकारले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि, उद्यमशीलता र सेवा क्षेत्रमा युवाहरूको सहभागिता बढाउनुलाई प्राथमिकतामा राखेको अवगत गराउँदै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका असर न्यूनीकरणमा नेपालले पुर्याएको योगदानका आधारमा अन्तर्राष्ट्रिय समुदायबाट उचित क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिए।
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा पूर्वाधार विकासलाई प्राथमिकता दिए पनि भूकम्प र बाढीपहिरोजस्ता विपद्का कारण पुनःनिर्माणमा केन्द्रित हुनुपरेको स्मरण गर्दै उनले अब उत्पादन, बजारीकरण र रोजगारी वृद्धिका लागि बैंकजस्ता संस्थाको सहयोग आवश्यक रहेको बताए।
विश्व बैंकका प्रबन्ध निर्देशक सिस्लेनले स्वीकृत कार्यढाँचाअन्तर्गत नेपालमा रोजगारी सृजना, जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण, कृषि, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा लगानी बढाउने योजना रहेको जानकारी दिए। उनले प्रधानमन्त्री ओलीको ‘हिमालदेखि समुद्रसम्मको सुरक्षा’ अवधारणामा सहकार्य गर्न विश्व बैंक तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे।
भेटमा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य तथा अर्थ मन्त्रालयका उच्चाधिकारीहरूको उपस्थिति थियो।