बरुण पोखरीमा एकीकृत विपद् प्रतिकार्य अभ्यास सम्पन्न

Author

देवेन्द्र प्रसाद यादव

२०८२ जेठ २५, आइतबार

31
Share
Featured

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१ स्थित ऐतिहासिक र सामाजिक दृष्टिकोणले महत्वपूर्ण बरुण पोखरीमा आज बिहान एकीकृत विपद् प्रतिकार्य अभ्यास (Disaster Response Drill) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बिहान ७:०५ बजे सुरू भई ८:३० बजेसम्म सञ्चालन भएको सो अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रूपमा विपद् व्यवस्थापन अभ्यास प्रस्तुत गरेका थिए।

कार्यक्रमको अध्यक्षता महोत्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायण प्रसाद रिसालले गरेका थिए। प्रमुख अतिथिका रूपमा जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारको उपस्थिति रहेको थियो। त्यस्तै, गोरखनाथ गण प्रकौली ब्यारेकका प्रमुख सेनानी विनोद विकास पाठक, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) हेरम्ब शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हे.क्वा. महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक पुरणचन्द भट्ट, राष्ट्रिय अनुसन्धान कार्यालयका उप-अनुसन्धान निर्देशक सुदीप अधिकारी, नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेश दास, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीय बुद्धिजीवी र सर्वसाधारण गरी झण्डै २५० जनाको सहभागिता रहेको थियो।


कार्यक्रमको उद्देश्य विपद् पूर्व तयारीको सन्देश प्रवाह गर्नुका साथै बाढी, डुबान, भूकम्प, आगलागी तथा अन्य प्राकृतिक तथा मानव सृजित संकटमा कसरी प्रभावकारी र समन्वित रूपमा उद्धार तथा राहत कार्य गर्न सकिन्छ भन्ने अभ्यास प्रस्तुत गर्नु रहेको आयोजकले जनाएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आपसी समन्वयमा गरिएको तालिम तथा अभ्यासले विपद् व्यवस्थापनमा सुरक्षा निकायहरूबीचको समन्वय र तत्परतामा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरिएको छ।

सुरक्षा निकायका प्रतिनिधिहरूले बरुण पोखरी क्षेत्रलाई प्रयोग गर्दै प्रतिकात्मक बाढी र उद्धार अभ्यास प्रदर्शन गरेका थिए। डुबानमा परेका व्यक्तिहरूको उद्दार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण, आगलागी नियन्त्रण र भीड व्यवस्थापनसम्बन्धी अभ्यासहरू उपस्थित दर्शकहरूका लागि अत्यन्तै आकर्षक र जानकारीमूलक बनेका थिए।

प्रमुख जिल्ला अधिकारी रिसालले कार्यक्रमको समापन मन्तव्य दिँदै विपद् व्यवस्थापनमा तयारी, अभ्यास र समन्वयलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए। नगरप्रमुख सोनारले जलेश्वर नगरपालिकाले विपद् पूर्व तयारीमा स्थानीय तहको भूमिका बढाउन प्रतिबद्ध रहेको बताए।

यस किसिमको अभ्यासले जिल्लाभरि जनचेतना फैलाउन मद्दत पुग्ने विश्वास गरिएको छ। सहभागी विद्यार्थी तथा स्थानीयवासीहरूले यस्ता कार्यक्रमले विपद् आउँदा कस्तो तयारी गर्नुपर्ने र कसरी सुरक्षित रहन सकिन्छ भन्ने कुरा सिक्न पाइएको प्रतिक्रिया दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...