काठमाडौँ।
नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले अस्पताल फार्मेसीको बोर्ड मात्र परिवर्तन गरेर नागरिकले सहज स्वास्थ्य सेवा वा सुलभ मूल्यमा औषधि पाउने अवस्था नबन्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले स्वास्थ्य क्षेत्रको वास्तविक रूपान्तरणका लागि दीर्घकालीन योजना, स्पष्ट नीति र व्यवहारिक समाधानको आवश्यकता रहेको उल्लेख गरे।
पौडेलले आफू मन्त्रालयको जिम्मेवारीमा रहँदा देशभर औषधिको समान मूल्य कायम गर्न केन्द्रीय स्तरमा बोलपत्र आह्वान गर्ने प्रणाली, जेनेरिक औषधिको मूल्य निर्धारण र औषधिको मूल्य समायोजनसम्बन्धी नीतिगत व्यवस्थाको तयारी गरेको स्मरण गराए। उनले औषधि, स्वास्थ्य सामग्री र कस्मेटिक सामग्रीको नियमनका लागि नयाँ विधेयक तथा स्वच्छ मूल्य निर्धारणसम्बन्धी निर्देशिका तयार गरी रायका लागि सरोकारवाला मन्त्रालयमा पठाइएको जानकारी दिए।
बदलिएको राजनीतिक परिस्थितिका कारण ती महत्त्वपूर्ण नीतिगत सुधारहरूले अपेक्षित गति लिन नसकेको दाबी गर्दै पूर्वमन्त्री पौडेलले वर्तमान सरकारलाई केवल देखावटी परिवर्तनमा नभई स्वास्थ्य क्षेत्रको प्रणालीगत सुधारमा गम्भीर हुन आग्रह गरेका छन्। उनले नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराए