काठमाडौं । मौसमको
प्रतिकूलताका कारण यसवर्ष देशभर धान रोपाइँ गत वर्षको तुलनामा १२.६२ प्रतिशतले कमी आएको छ । गत वर्ष ४५ प्रतिशत
रोपाइँ भएकामा यस वर्ष ३२.३८ प्रतिशत रोपाइँ भएको हो ।
सोमबारसम्म देशभर चार
लाख ४३ हजार ५९५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि विभागका महानिर्देशक
प्रकाशकुमार सञ्जेलले जानकारी दिए । उनका अनुसार रोपाइँ हुने क्षेत्रफल १३ लाख ७०
हजार ६२ हेक्टर हो ।
सुदूरपश्चिम प्रदेशमा
५७.९, गण्डकीमा ४१,
कर्णालीमा ४०.५, लुम्बिनी प्रदेशमा
३७.३, बागमतीमा ३३.२, कोशीमा ३१.५ र मधेस
प्रदेशमा १५.६ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ ।
जलवायु परिवर्तनको
असरले समयमा मनसुन सक्रिय नभएकाले रोपाइँमा कमी आएको भए पनि देशका अधिकांश ठाउँमा
वर्षा भएपछि रोपाइँमा सुधार आउने महानिर्देशक सञ्जेलले बताए ।
धान उत्पादन तथा
क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिए पनि मधेस प्रदेशमा १५.६ प्रतिशत मात्र रोपाइँ भएकाले धान उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको उनको भनाइ छ
।
सो क्षेत्रबाट धानको
उत्पादकत्व वृद्धि भई कुल उत्पादनको ७० प्रतिशत योगदान रहेको छ भने पहाडी
क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको जनाइएको छ ।