सुर्खेत । पटकपटक
ताकेता गर्दा पनि काम नगरेपछि सडक डिभिजन सुर्खेतले ठेक्का तोडने प्रक्रिया अगाडि
बढाएको छ । सडक डिभिजन सुर्खेतले सम्झौताअनुसार निर्माण सम्पन्न नगर्ने चार
निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ ।
पटकपटक लिखित तथा
मौखिक रूपमा ताकेता, निर्देशन
र म्याद थप गर्दा पनि तोकिएको अवधिभित्र काम सम्पन्न नभएपछि सार्वजनिक खरिद ऐन,
२०६३ तथा ठेक्का सम्झौताको शर्तअनुसार सम्झौता अन्त्य गरिएको
डिभिजनका सूचना अधिकारी रुपेश केसीले जानकारी दिए ।
डिभिजनले सार्वजनिक
सूचनामार्फत सुर्खेतमा सञ्चालित चारवटा सडक तथा पुल निर्माण आयोजनाको ठेक्का रद्द
गरिएको जानकारी दिएको हो ।
सूचनाअनुसार निर्माण
व्यवसायीले सम्झौताअनुसारको दायित्व पूरा नगरेको, पटकपटक काम सम्पन्न गर्न आग्रह गर्दा पनि अपेक्षित प्रगति
नभएकाले कानुनी व्यवस्थाबमोजिम सम्झौता अन्त्य गरिएको उल्लेख छ ।
सम्झौता अन्त्य गरिएका
आयोजनामध्ये सहारे स्वास्थ्यचौकी–बेतेनी सडकअन्तर्गत गोचे खोलामाथि प्रि-स्ट्रेस्ड आरसिसी मोटरेबल पुल निर्माणको
जिम्मा एमएस एड्भेन्चर जेभी बाँकेले पाएको थियो । त्यसैगरी, गुमी-पातिहाल्ना सडकअन्तर्गत भलुकुने खोलामा प्रिस्ट्रेस्ड आरसिसी पुल
निर्माणको जिम्मा जयबुद्ध-नेपाल मेगा बिल्डर्स जेभी
सुर्खेतलाई दिइएको थियो ।
यस्तै, सुर्खेत-जुम्ला
सडकअन्तर्गत दैलेखको खुर्रा खोलामा आरसिसी पुल निर्माणको ठेक्का टिडीआर
कन्स्ट्रक्सन प्रालि धनगढीले लिएको थियो भने रत्न राजमार्गअन्तर्गत हर्रे-बाङ्गेसिमल खण्डमा सडक पुनर्स्थापना, नाला निर्माण
तथा सडक संरक्षणको काम जनता बिल्डर्स भेरीगङ्गा–९ सुर्खेतले गरिरहेको थियो । यी
चारवटै आयोजनामा सन्तोषजनक प्रगति नभएपछि ठेक्का सम्झौता अन्त्य गरिएको सूचनामा
उल्लेख छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(७) तथा ठेक्का सम्झौताको जिसीसी अन्तर्गतका सम्बन्धी व्यवस्थाअनुसार ठेक्का
अन्त्य गरिएको डिभिजनले जनाएको छ । साथै, सार्वजनिक खरिद
नियमावलीअनुसार पोस्ट टर्मिनेसन इभालुएसन गरी कानुनबमोजिम आवश्यक प्रक्रिया अघि
बढाइने र सरकारलाई हुन गएको आर्थिक क्षति सम्बन्धित निर्माण व्यवसायीबाट असुलउपर
गरिने पनि सूचनामा उल्लेख छ ।
डिभिजनले सूचना प्रकाशित
भएको मितिले १५ दिनभित्र सम्बन्धित निर्माण व्यवसायीलाई कार्यालयमा सम्पर्क गरी
वित्तीय फरफारक प्रक्रिया सम्पन्न गर्न आग्रह गरेको छ ।
पछिल्लो समय निर्माण
व्यवसायीले समयमै काम सम्पन्न नगर्दा सडक तथा पुल आयोजना लम्बिने समस्या बढ्दै
गएको भन्दै सरकारले रुग्ण ठेक्कामाथि कडाइ गर्दै आएको छ ।