काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको प्रगति विवरणमा सुशासन, भ्रष्टाचार नियन्त्रण, डिजिटल सेवा विस्तार, सार्वजनिक प्रशासन सुधार र सेवा प्रवाहमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरिएको छ।
मन्त्री पोखरेलका अनुसार उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि सम्पत्ति छानबिन आयोग गठन गरिएको, भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणविरुद्ध अनुसन्धान तीव्र बनाइएको र विभिन्न पुराना छानबिन प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ । साथै बैंक खाता, डिजिटल वालेट, सेयर लगानीलगायत वित्तीय विवरणलाई एकीकृत गर्ने डिजिटल प्रणाली विकासको काम पनि सुरु गरिएको जनाएको छ।
सेवा प्रवाहलाई सहज बनाउन नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गा प्रशासन तथा अन्य सरकारी सेवामा अनलाइन प्रणाली विस्तार गरिएको सरकारको दाबी छ। नागरिक एपमार्फत विभिन्न सेवा उपलब्ध गराइनुका साथै अधिकांश स्थानीय तहमा डिजिटल सेवा विस्तार गरिएको उल्लेख गरिएको छ।
सरकारले प्रशासनिक खर्च कटौतीका लागि मन्त्रालय र सरकारी संरचना पुनर्संरचना, अनावश्यक सरकारी सवारीसाधन फिर्ता, विभिन्न निकाय खारेज तथा पुनर्गठन जस्ता कदम चालिएको जनाएको छ। सार्वजनिक खर्चमा मितव्ययिता अपनाउँदै प्रशासनलाई चुस्त बनाउने प्रयास गरिएको दाबी पनि प्रतिवेदनमा गरिएको छ।
मन्त्रालय घटाउँदा २० अर्ब बचत
मन्त्री पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको बताए । उनले मन्त्रालयको सङ्ख्या घटाउँदा वार्षिक करिब २० अर्ब रुपैयाँ राज्य कोषमा बचत हुने अनुमान गरिएको पनि बताए ।
file:///C:/Users/awesome/Downloads/balen%20100%20din.pdf