काठमाडौं । नेपालको कम्युनिस्ट
राजनीतिमा फेरि एकपटक नयाँ तरंग देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली
कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक
माधवकुमार नेपाल, झलनाथ खनाल तथा पूर्वराष्ट्रपति विद्या भण्डारी एउटै मञ्चमा देखिएपछि
फेरि वाम एकता (राजनीतिक
समीकरण)को चर्चा चुलिएको हो ।
मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित
कार्यक्रममा सबै शीर्ष वाम नेताको उपस्थितिलाई धेरैले केवल औपचारिक कार्यक्रमभन्दा
ठूलो राजनीतिक सन्देशका रूपमा व्याख्या गरेका छन् । तर मुख्य प्रश्न उठेको छ- के यो साँच्चिकै वैचारिक एकता हो वा
चुनावी पराजयपछि राजनीतिक अस्तित्व जोगाउने प्रयास ?
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले
नेपालको परम्परागत कम्युनिस्ट शक्तिलाई गम्भीर धक्का दिएको छ । एमाले, प्रचण्ड
नेतृत्वको नेकपा समूहले कुनै राम्रो परिणाम ल्याउन सकेनन् । बरु लज्जास्पद हार व्यहोरेका
छन् । चुनावमा नयाँ पुस्ता, स्वतन्त्र उम्मेदवार र वैकल्पिक
राजनीतिक शक्तिप्रति मतदाताको आकर्षण बढेको देखियो ।
यही कारण अहिले कम्युनिस्ट नेताहरूमा
एउटा साझा बेचैनी देखिन्छ- कतै नेपालमा कम्युनिस्ट
आन्दोलन सिद्दिने त होइन । चुनावअघि एक अर्काको नाम लिनुपरे मुख खोकल्ने यि
नेताहरु अहिले फेरि कुम जोडने अवस्थामा पुगेका छन् । यो केवल देश निर्माण गर्ने
विषयमा भन्दा आफ्नो अस्तित्व जोगाउने प्रपञ्चका लागि भएको स्पस्टै देखिन्छ ।
पूर्वराष्ट्रपति विद्या भण्डारी अहिले
प्रतक्ष राजनीतिमा छैनन् तर उनको एमालेभित्र ठूलै प्रभाव छ । पछिल्ला गतिविधिमा
उनी विभिन्न कम्युनिस्ट धारका नेताहरूलाई एउटै मञ्चमा ल्याउने भूमिकामा देखिएकी
छन् ।
विद्या भण्डारीकै नेतृत्वमा औपचारिक
पार्टी एकीकरणको प्रक्रिया सुरु हुने भन्ने निष्चित छैन तर त्यो नभइहाल्ला भन्न
पनि सकिदैन । किनभने, लामो समय
पालैपाले सत्तामा मस्ति गर्दै आएका बुढा नेताहरु अब एक्लाएक्लै हिँडदा अस्तित्व
छिट्टै मेटिने बुझाइमा छन् । भण्डारीको पछिल्लो सक्रियताले केही राजनीतिक उद्देश्य
देखाएको छ ।
१. विभाजित वाम शक्तिलाई संवादमा
ल्याउने ।
२. मदन भण्डारीको राजनीतिक विरासतलाई
साझा आधार बनाउने ।
३. एमालेभित्र तथा बाहिर आफ्नो प्रभाव
कायम राख्ने ।
विचारभन्दा बढी
सत्ता मोह
नेपालको कम्युनिस्ट आन्दोलन विचार
ओकल्ने र सत्तामा लिप्त हुने रोगले ग्रस्त भइसकेको छ । जसलाई विगत तीन दशकमा
पटक–पटक जुट्ने र फुट्ने गरेका घटनाले प्रस्ट पार्छ । जुन विचारको लागि भन्दा
सत्ताकै लागि थियो ।
धेरै अगाडि नजाऊँ । चार-पाँच वर्षअगाडिकै कुरा गरौं न !
एमाले र माओवादी केन्द्रबीच एकता भयो ।
त्यसपछि फुट भयो ।
माधव नेपाल अलग भए ।
झलनाथ खनाल छुट्टिए ।
बामदेव गौतम अलग भए ।
फेरि अहिले एकताको कुरा उठिरहेको छ ।
यसले एउटा गम्भीर प्रश्न जन्माएको छ । विचार
नै मिलेको थियो भने फुट किन भयो ? फुट विचारका कारण थियो भने अहिले फेरि
एकता गर्न किन खोजिँदै छ ? यसको एउटै निर्विकल्प उत्तर हो, सत्ता ।
यिनै प्रश्नका कारण धेरै विश्लेषकले
अहिलेको प्रयासलाई वैचारिक पुनर्मिलनभन्दा बढी राजनीतिक गणित मानिरहेका छन् ।
डर नयाँ दलको हो
?
कम्युनिस्ट नेताहरूले सार्वजनिक रूपमा 'लोकतन्त्र र गणतन्त्रको रक्षा', 'प्रतिगमनविरुद्ध
सहकार्य' र 'वाम एकता' को
कुरा गरिरहेका हुन्छन् । तर, व्यवहारमा
आफ्नो स्वार्थ पुरा गर्ने र विचौलियासँग साँठगाँठ गर्ने कुरामै समय खर्चिन्छन् ।
सर्वहारा वर्गको नाम लिन्छन् र शासक वर्गको जीवन जिउँछन् ।
यही प्रवृत्तिका कारण पछिल्ला
वर्षहरुमा नेपालको राजनीतिमा वैकल्पिक दलहरु उदाएका हुन् । पुराना दलप्रति
जनविश्वास घटेको छ । नयाँ दल, स्वतन्त्र उम्मेदवार र वैकल्पिक
नेतृत्वले पुराना दलको मत आधार खुम्च्याइरहेका छन् । त्यसैले विभाजित कम्युनिस्ट
मतलाई पुनः एउटै ठाउँमा ल्याउने र सकेसम्म सत्तामा पुग्ने प्रयास कम्युनिस्ट वृद्ध
नेताहरुको हुनसक्छ ।
कम्युनिस्ट दलहरू फेरि एक भए भने
जनताले केही प्रश्न सोध्नैपर्छ र सोध्नेछन् पनि ।
१. विगतमा भएको फुटको जिम्मेवारी कसले
लिन्छ ?
२. एउटै विचार भन्ने तर पटक–पटक सत्ता
बाँडफाँटको राजनीति किन गरेको ?
३. नयाँ एकता जनताको हितका लागि हो कि
नेताहरूको राजनीतिक स्वार्थ सुरक्षित गर्न ?
४. भ्रष्टाचार, सुशासन, रोजगारी
र अर्थतन्त्रका विषयमा किन दृष्टिकोण बन्दैन ?
यी प्रश्नको उत्तर नदिई केवल वाम
एकताको कुनै अर्थ छैन । तर, यी प्रश्नको
उत्तर दिन पनि अब निकै ढिला भइसकेको छ किनभने राजनीतिक कोर्स फेरिएको छ । अब कम्युनिस्ट
विचारले देशमा केही हुने छैन ।
चुनावमा नराम्रोसँग पराजित भएपछि अहिले
कम्युनिस्ट नेताहरु नजिक हुन खोजिरहेका छन् । अहिलेसम्मको अवस्थाले एउटा कुरा
स्पष्ट देखाउँछ- कम्युनिस्ट
नेताहरूबीच संवाद बढेको छ, एउटै मञ्चमा उपस्थित हुने क्रम बढेको छ
र कार्यगत सहकार्यको भाषा प्रयोग भइरहेको छ ।
राजनीतिक दृष्टिले हेर्दा यो पहललाई
दुई कोणबाट बुझ्न सकिन्छ । पहिलो, विभाजित वाम शक्तिलाई पुनः संगठित
गर्ने दीर्घकालीन प्रयास । दोस्रो, चुनावी कमजोर
प्रदर्शनपछि घट्दो जनसमर्थन रोक्ने र परम्परागत राजनीतिक प्रभाव जोगाउने रणनीति ।
यसमा पहिलो पहल भन्दा पनि दोस्रो पहलको पल्ला भारी छ । कम्युनिस्ट नेताहरु मिल्न
राम्रो हो तर यो नेताहरुको व्यक्तिगत स्वार्थका लागि हुनु हुँदैन ।
त्यसैले, निर्णायक प्रश्न
भने एउटै रहन्छ- यो एकता देशका लागि हो कि नेताहरूको
राजनीतिक भविष्यका लागि ?