काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि बजेटका करका दर चुहावट गरेको आरोप लगाउँदै संसदीय छानबिनको माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले बजेट सार्वजनिक हुनुअघि नै सूचना 'लिक' गरेर ७५३ वटा बीवाइडी (BYD) गाडी भन्सार पास गरिएको दाबी गरे।
शाहीले करका दर हेरफेरबारे अर्थमन्त्री र उनले तोकेका व्यक्तिबाहेक कसैलाई थाहा नहुने उल्लेख गर्दै यस विषयमा सरकारले नभई संसदले नै छानबिन समिति बनाउनुपर्नेमा जोड दिए। "सूचना लिक भएर १४ गते नै गाडी भन्सार पास हुन्छन्, अनि सरकारले कर्मचारीलाई डाम्न आफैँ छानबिन समिति बनाउँछ?" शाहीले प्रश्न गरे।
उनले करका दर चुहावट गर्ने कार्यलाई 'राजद्रोह' को संज्ञा दिँदै दोषी ठहरिएमा सोही अनुसारको मुद्दा चल्नुपर्ने बताए। सुशासनको नारा दिएर आएको सरकारले कुशासनको बाटो रोजेको भन्दै उनले अर्थमन्त्रीको जवाफदेहितामाथि कडा प्रश्न उठाएका छन्।