काठमाडौँ, ८ जेठ I
काठमाडौँको चन्द्रागिरी नगरपालिकामा सिसि क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा सिसि क्यामरा जडान गर्न बिहीबार नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नगरपालिका क्षेत्रभित्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ र प्रविधिमैत्री बनाउन सिसि क्यामरा जडान गर्न लागिएको हो ।
उक्त समझदारीमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले हस्ताक्षर गर्नुभयो । नगरप्रमुख गिरीले काठमाडौँ उपत्यका भित्रिने सबैभन्दा ठूलो र मुख्य नाका नागढुङ्गा चन्द्रागिरि नगरपालिकामा पर्ने भएकाले यस क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रहरीसँग सहकार्य गरिएको बताउनुभयो । उहाँले सिसिटिभी जडानपछि आपराधिक गतिविधि नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नागरिक र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । हाल चन्द्रागिरि नगरपालिकाभित्र झण्डै ४०० सिसि क्यामेरा जडान गरिएका छन् । नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले नगरपालिकाभित्र जडान गरिएका क्यामराको सङ्ख्या थप गरी एक हजार ५०० पुर्याइनुका साथै नगरभित्रको चौतर्फी सुरक्षा गर्ने लक्ष्यका साथ नेपाल प्रहरीसँग सम्झौता गरिएको बताउनुभयो ।