काठमाडौँ
सडक डिभिजन कार्यालय, हेटौँडाले महेन्द्र राजमार्ग अन्तर्गत पथलैया–चुरियामाई खण्डमा सडक सीमा मिचेर निर्माण गरिएका अवैध घर तथा टहराहरू हटाउन अन्तिम अल्टिमेटम दिएको छ। कार्यालयले एक सूचना जारी गर्दै २०८३ वैशाख १० गतेभित्र सडक सीमा खाली गर्न निर्देशन दिएको हो।
सडक डिभिजनका अनुसार बारा जिल्लाको चुरियामाई मन्दिर आसपास तथा ३ नं. पुल क्षेत्रमा सडक विभागको स्वीकृति बिना नै अनधिकृत रूपमा संरचनाहरू निर्माण गरिएको पाइएको छ। कानुनअनुसार सडकको केन्द्रबिन्दुबाट दायाँ र बायाँ २५–२५ मिटर क्षेत्रलाई सडक सीमा मानिने भएकाले सो सीमाभित्र बनेका सबै संरचना हटाउन निर्देशन दिइएको हो।
कार्यालयले यसअघि पनि पटक–पटक सूचना जारी गरी सडक सीमा खाली गर्न ताकेता गर्दै आएको जनाएको छ। २०७३ पुस १८, २०८० असार ९ लगायत विभिन्न मितिमा सार्वजनिक सूचना जारी गरिए पनि स्थानीयले अटेर गर्दै संरचना नहटाएको पाइएको सडक डिभिजनको भनाइ छ।
सडक डिभिजन कार्यालय, हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीद्वारा हस्ताक्षरित सूचनामा तोकिएको म्यादभित्र संरचना नहटाए कानुनअनुसार कारबाही गरिने स्पष्ट पारिएको छ। सार्वजनिक सडक ऐन २०३१ तथा प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने चेतावनी समेत दिइएको छ।
