काठमाडौँ
बाराको पचरौता नगरपालिका–६ का वडाध्यक्ष मकबुल मिया अन्सारीसहित ७ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। विशेष अदालतले ज्येष्ठ नागरिक भत्ता अनियमितता सम्बन्धी मुद्दामा उनीहरूलाई दोषमुक्त गर्ने फैसला सुनाएको हो।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशद्वय हेमन्त रावल र उमेश कोइरालाको इजलासले वडाध्यक्ष अन्सारीसहितका प्रतिवादीलाई सफाइ दिएको हो। उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ माघ ६ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
अभियोगपत्रअनुसार वडाध्यक्ष अन्सारी र अन्य प्रतिवादीले उमेरभन्दा बढी उमेर देखाएर ज्येष्ठ नागरिक भत्ता वितरण गरेको आरोप लगाइएको थियो। नागरिकताको प्रतिलिपिमा जन्म मिति केरमेट गरी गलत विवरण पेश गरेर राज्यलाई नोक्सानी पुर्याएको दाबी गरिएको थियो।
उक्त प्रकरणमा तत्कालीन वडा सचिवहरू राजारामप्रसाद साह, पिटर थारु र सङ्गीता घिमिरेमाथि पनि आरोप लागेको थियो। उनीहरूले केरमेट भएको नागरिकता तथा नक्कली विवरणका आधारमा विद्युतीय अभिलेखमा प्रविष्ट गरी भत्ता वितरणमा सहयोग गरेको अभियोग लगाइएको थियो।
अख्तियारले वडाध्यक्ष अन्सारीसँग ४ लाख ७६ हजार रुपैयाँ, सचिव साहसँग २ लाख ५२ हजार, घिमिरेसँग १ लाख ४० हजार र थारुसँग ८४ हजार रुपैयाँ बिगो माग दाबी गरेको थियो। तर अदालतले पर्याप्त प्रमाण नपुगेको ठहर गर्दै सबै प्रतिवादीलाई सफाइ दिएको हो।