काठमाडौँ
महोत्तरीको बर्दिवासस्थित मध्य पृतना मुख्यालयमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श भएको बताएका छन्। उनले राष्ट्रको सार्वभौमिकता रक्षा र सेनाको संस्थागत हितका लागि उनीहरूले पुर्याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरे।
प्रधानसेनापति सिग्देलले अवकाश प्राप्त सैनिकहरूलाई समाजमा जिम्मेवार, अनुशासित र मर्यादित नागरिकका रूपमा प्रस्तुत हुँदै स्थानीय तहमा उत्पादनशील र उद्यमी बन्न आग्रह गरे। उनले सेनाको कल्याणकारी कोषमार्फत प्रदान गरिने सेवाहरूलाई विकेन्द्रित, पारदर्शी र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, स्वरोजगार र सीप विकास क्षेत्रमा पहुँच विस्तार भइरहेको जानकारी दिए।
उनले देशको आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले खेलेको भूमिकाले संस्थालाई विश्वसनीय र सम्मानित बनाएको दाबी गरे। हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गराउन सेनाले देखाएको कार्यकुशलताको पनि उनले प्रशंसा गरे।
प्रधानसेनापतिले कल्याणकारी कार्यहरूलाई प्रभावकारी बनाउन अवकाश प्राप्त सैनिकहरूको सुझाव र सहकार्य आवश्यक रहेको बताए। सम्मेलनमा सहभागीहरूको उत्साहपूर्ण सहभागिता र मार्च पासले उनीहरूमा अझै पनि सैनिक जोश र राष्ट्रप्रतिको प्रतिबद्धता कायम रहेको संकेत गरेको उल्लेख गर्दै उनले यसबाट सेवारत सैनिकहरू पनि थप प्रेरित भएको बताए।
नेपाली सेनाले देशको स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको स्मरण गराउँदै सिग्देलले भविष्यका चुनौतीहरू सामना गर्न सक्षम संस्था निर्माण गरी भावी पुस्तालाई हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको धारणा राखे। उनले सेनाको व्यावसायिकता र निष्पक्षताले अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको प्रतिष्ठा उच्च बनाएको पनि बताए।
कार्यक्रममा मध्य पृतना अन्तर्गतका विभिन्न जिल्लाबाट आएका अवकाश प्राप्त सैनिक तथा उनका परिवारजनको उल्लेख्य उपस्थिति रहेको थियो। ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण, पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नाराका साथ यस वर्षको सम्मेलन आयोजना गरिएको हो।