काठमाडौँ
परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा मरिसस प्रस्थान गर्ने भएका छन्। उनी हिन्द महासागर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ जान लागेका हुन्।
मरिससको राजधानी लुइसमा भोलिदेखि सुरु हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) चैत २७ र २८ गते आयोजना हुनेछ। ‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षकमा हुने उक्त सम्मेलन मरिसस सरकारसँगको सहकार्यमा इन्डिया फाउन्डेसनले आयोजना गर्न लागेको हो।
सम्मेलनमा परराष्ट्रमन्त्री खनालले नेपालको राष्ट्रिय धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले हिन्द महासागर क्षेत्रको शासन, पहाड–महासागर पारिस्थितिक सम्बन्ध तथा आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्त्वबारे नेपालको दृष्टिकोण राख्नेछन्।
सम्मेलनका क्रममा मन्त्री खनालले विभिन्न देशका समकक्षीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। उनी चैत ३० गते स्वदेश फर्किनेछन्।