काठमाडौँ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ निर्माण गर्न कार्यदल गठन गरेको छ। आगामी मनसुनलाई लक्षित गर्दै प्रभावकारी तयारी र प्रतिकार्य प्रणाली सुदृढ बनाउन कार्यदल गठन गरिएको हो।
प्राधिकरणका अनुसार नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा १८ सदस्यीय कार्यदल गठन गरिएको छ। उक्त कार्यदलले मनसुनजन्य विपद् व्यवस्थापनका लागि आवश्यक रणनीति तथा कार्ययोजना तयार गर्नेछ।
प्राधिकरणका प्रवक्ता उपसचिव शान्ति महतका अनुसार संघीय मन्त्रालय, विभिन्न विभाग, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला संस्थाका प्रतिनिधिहरू कार्यदलमा सहभागी छन्। उनीहरूले विपद् व्यवस्थापनका विविध पक्षमा सुझाव संकलन गर्नेछन्।
सम्भावित मनसुनजन्य विपद्बाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय तथा साझेदार संस्थासमेतको समन्वयमा कार्ययोजना निर्माण भइरहेको प्राधिकरणले जनाएको छ।
कार्यदलका सदस्य उपसचिव रामकुमार केसीका अनुसार सरोकारवालाबाट सुझाव संकलनका लागि एक हप्ताको समय दिइएको छ। त्यसपछि प्राप्त सुझावका आधारमा अर्को साता कार्यदलको बैठक बसेर कार्ययोजनालाई अन्तिम रूप दिने तयारी छ।
यसअघि गृहमन्त्री सुदन गुरुङले समयमै प्रभावकारी कार्ययोजना निर्माण गरी विपद् व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिएका थिए।