काठमाडौँ
नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका नेताहरूबीच भएको बैठकलाई नेताहरूले अनौपचारिक छलफलका रूपमा व्याख्या गरेका छन्। शेर बहादुर देउबा र नेता डॉ. शेखर कोईराला पक्षका नेताहरू सहभागी रहेको उक्त बैठकलाई औपचारिक निर्णयमुखी नभई परामर्शमूलक छलफलका रूपमा लिइएको हो।
निवर्तमान सहमहामन्त्री बद्री पाण्डेका अनुसार बैठक पूर्ण रूपमा अनौपचारिक प्रकृतिको हो। उनले निर्वाचनको समीक्षा, राष्ट्रिय राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक अवस्थाबारे विस्तृत छलफल भइरहेको जानकारी दिए।
उनका अनुसार हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा जिल्ला–जिल्लामा खटिएका नेताहरूले आ–आफ्नो अनुभव र प्रतिवेदन प्रस्तुत गर्नेछन्। साथै, पार्टीभित्र देखिएका चुनौती, जटिलता तथा समाधानका उपायबारे पनि छलफल केन्द्रित रहनेछ।
पाण्डेले पार्टीभित्र देखिएको आन्तरिक जटिलता र त्यसले जनमानसमा पारेको प्रभावबारे समेत परामर्श हुने बताए। उनले पार्टीभित्रका अनौपचारिक छलफल र बैठकहरू पुरानै परम्परा भएको उल्लेख गर्दै यस्ता छलफलले पार्टी सुदृढीकरणमा सहयोग पुग्ने दाबी गरे।