दोमुख पुल निर्माणमा ठेकेदारको लापरवाहीः ४ वर्षमा करिब २ प्रतिशत मात्र प्रगति

Author

सजिलो पत्रिका

२०८२ फागुन १०, आइतबार

25
Share
Featured

काठमाडौँ

हिमाली जिल्ला मुगुको सोरु गाउँपालिकामा निर्माणाधीन दोमुख पक्की पुल ठेक्का सम्झौता भएको चार वर्ष बितिसक्दा पनि निर्माण कार्य अत्यन्तै सुस्त देखिएको छ । हुम्ला–कर्णाली करिडोर तथा मुगुको गमगढी, तारापानी र नाक्चेलाग्ना सडक जोड्ने रणनीतिक महत्वको उक्त पुलमा हालसम्म करिब २ प्रतिशत मात्र प्रगति भएको पाइएको छ ।

आर्थिक वर्ष (आव) २०७७÷०७८ मा ठेक्का नम्बर २ अन्तर्गत दोमुख पक्की पुल निर्माणका लागि २०७८ साल पुस १४ गते पूर्वाधार विकास कार्यालय मुगु र श्री मृत संजीवनी निर्माण सेवा प्रा.लि., हेटौँडा, मकवानपुरबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ साल मंसिर ३० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी १ सय मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल १५ करोड ९३ लाख ७३ हजार ९ सय ४१ रुपैयाँ ९३ पैसा (मूल्य अभिवृद्धि करसहित) मा निर्माण गर्ने सहमति भएको थियो ।

तर, निर्धारित समयमा काम सम्पन्न नभएपछि विभिन्न बहाना देखाउँदै ठेकेदार कम्पनीले म्याद थप गराउँदै आएको छ । पछिल्लो पटक २०८३ साल मंसिर २९ गतेसम्म सम्पन्न गर्ने गरी पुनः म्याद थप गरिएको छ । कार्यालयले पटक–पटक पत्राचार गरी काम अघि बढाउन आग्रह गरे पनि हालसम्म प्रभावकारी प्रगति हुन सकेको छैन् ।

पूर्वाधार विकास कार्यालय मुगुका सूचना अधिकारी मनमोहन सिंह खड्काका अनुसार निर्माण कम्पनीका प्रतिनिधि हालै आयोजना स्थलमा पुगेका छन् र आर्थिक वर्ष २०८३÷०८४ भित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

सोरुगाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले स्थानीय तहका तर्फबाट पटक–पटक जिल्ला पूर्वाधार विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा निर्माण कम्पनीसँग पहल गर्दा पनि काममा उल्लेख्य प्रगति नभएको बताए । “अहिले प्रतिनिधि आएको भनिए पनि छिट्टै काम सम्पन्न हुन्छ भन्ने विश्वास गर्न सकिने अवस्था छैन् । पुनः म्याद थप्ने प्रयास मात्र हुने जस्तो देखिन्छ । अब स्थानीय तहले आफ्नो भूमिकालाई कडाइका साथ अघि बढाउनेछ,” उनले भने । स्थानीय बासिन्दा सुन्तला मल्लका अनुसार पुल निर्माणको खबर सुन्दा स्थानीयवासी निकै उत्साहित भएका थिए ।

“चार वर्ष बितिसक्दा पनि काम नदेखिँदा निराशा बढेको छ । अहिले पनि मानिस र खच्चरमार्फत सामान ढुवानी गर्नुपरेको छ । पुल नहुँदा एक घण्टाको दूरी पार गर्न ३–४ घण्टा लाग्ने गरेको छ,” उनले भनिन् । पुल निर्माण भए रारा ताल घुम्न आउने पर्यटक तथा गमगढी सदरमुकाम र आसपासका बस्तीमा आवतजावत गर्ने नागरिकलाई ठूलो सहजता हुने उनको भनाइ छ ।

निर्माण कम्पनीका इन्जिनियर कुमार यादवले भने भूगोल अध्ययन, डिजाइन तयारी तथा ढुवानी समस्या लगायतका कारण ढिलाइ भएको स्वीकार गर्दै आगामी सात हप्ताभित्र काम सुरु गर्ने दाबी गरेका छन् ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको दोमुख पक्की पुल निर्माण चार वर्ष बितिसक्दा पनि नगण्य प्रगतिमा सीमित हुनु सम्बन्धित निकाय र निर्माण कम्पनीको लापरवाहीको संकेत भएको स्थानीयको आरोप छ । सरोकारवाला निकायले समयमै आवश्यक पहल नगरे पुल निर्माण थप लम्बिने सम्भावना देखिएको छ ।

यो समाचारमा

काठमाडौँहुम्लासोरु गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...