काठमाडौँ।
लिबियाका पूर्व शासक मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफीको गोली हानी हत्या गरिएको छ। ५३ वर्षीय सैफको हत्या भएको पुष्टि उनका राजनीतिक प्रमुखले मङ्गलबार गरेका हुन्। उनलाई लामो समयदेखि गद्दाफीको सम्भावित उत्तराधिकारीका रूपमा हेरिँदै आएको थियो।
उनको हत्याबारे फरक–फरक विवरणहरू सार्वजनिक भएका छन्। सैफका वकिलले जिन्तानस्थित निवासमा चारजना कमान्डोले आक्रमण गरी उनको हत्या गरेको बताएका छन् भने उनकी बहिनीले अल्जेरियाको सीमानजिक दाइको मृत्यु भएको दाबी गरेकी छन्।
सन् २०११ मा बुवा मुअम्मर गद्दाफीको सत्ता ढलेपछि सैफ लामो समय विद्रोहीको कब्जामा रहेका थिए। उनीमाथि मानवताविरुद्धको अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले मुद्दा चलाउन खोजेको थियो भने सन् २०१५ मा त्रिपोलीको अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो। यद्यपि, सन् २०१७ मा उनलाई जेलमुक्त गरिएको थियो। उनको हत्या कसले र किन गर्यो भन्नेबारे विस्तृत विवरण खुल्न बाँकी छ।