काठमाडौँ।
सिन्धुलीको दुधौली नगरपालिकास्थित एक सामुदायिक वनमा एक पुरुषको शव फेला परेको छ। दुधौली नगरपालिका–४ मा पर्ने झोराखानी दमार सामुदायिक वनमा स्थानीयले एक पुरुषलाई मृत अवस्थामा फेला पारेका हुन्।
सखुवाको रुख नजिकै घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय डकाहालाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृतकको पहिचान दुधौली नगरपालिका–३ मिलनचोक निवासी करिब ५८ वर्षीय सन्तबहादुर घिसिङको रूपमा भएको छ। मृतकको शरीरमा बाहिरी चोटपटक नदेखिएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ।
प्रहरीले घटनास्थलको मुचुल्का प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि नगर अस्पताल सिर्थौली पठाएको थियो। पोस्टमार्टम पश्चात् शव आफन्तको जिम्मा लगाइएको छ।
मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।