मधेश प्रदेशमा कुष्टरोगको जोखिम उच्च

Author

सजिलो पत्रिका

२०८२ माघ १०, शनिबार

22
Share
Featured
  • मधेश प्रदेशमा देशकै सबैभन्दा बढी कुष्टरोगको जोखिम देखिएको छ, कुल कुष्टरोगीमध्ये करिब एकतिहाइ मधेशमै छन्।
  • उच्च जोखिम हुँदाहुँदै पनि कुष्टरोग नियन्त्रणका लागि प्रदेश सरकारले शून्य बजेट छुट्याएको खुलासा भएको छ।
  • पर्सा, सिरहा र जनकपुरधाम अति जोखिम क्षेत्र रहेका छन् भने सामाजिक भेदभाव अन्त्य र बजेट वृद्धि आवश्यक रहेको सरोकारवालाको जोड छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेशमा कुष्टरोगको सबैभन्दा बढि जोखिमम रहेको तथ्यांक सार्वजनिक गरिएको छ । ७३ औँ कुष्टरोग दिवसको अवसरमा जनकपुरधाममा शनिबार स्वास्थ्य निर्देशनालय मधेश प्रदेशद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार कुष्टरोगीको संख्यामा मधेश प्रदेश पहिलो स्थानमा रहेको छ ।

उक्त तथ्यांक अनुसार कुल कुष्टरोगीको संख्यामध्ये झण्डै एकतिहाइ रोगीको संख्या मधेश प्रदेशमै रहेको छ । देशभर हाल २ हजार ४०९ जना कुष्टरोगी रहेकामा मधेश प्रदेशमा मात्र ८५७ जना रहेको जनाइएको छ ।

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका कुष्टरोग अधिकृत राजवीर यादवले मधेश प्रदेशमा कुष्टरोगीको संख्या अत्यधिक भए पनि उपचार तथा नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय सरकारबाट पर्याप्त लगानी नभएको बताए । उनले प्रदेश सरकारले कुष्टरोग नियन्त्रण गर्न शून्य बजेट छुट्याएको जानकारी दिए ।

यस आर्थिक वर्षमा मधेश प्रदेशमा ५८ जनामा मात्र नयाँ कुष्टरोग पुष्टि भएको छ । १४ वर्ष मुनिका कुष्टरोगी देशभर ९१ जना रहेकामा मधेश प्रदेशमा ४० जना छन् । यस्तै, देशभरका १ हजार १२ महिला कुष्टरोगीमध्ये ३७८ जना मधेश प्रदेशका रहेको तथ्यांकमा उल्लेख छ ।

एक लाख जनसंख्यामा पत्ता लाग्ने नयाँ कुष्टरोगीको दर देशभर ८.१६ रहेकामा मधेश प्रदेशमा १३.६७ रहेको छ । त्यस्तै, प्रति १० हजार जनसंख्यामा वर्षको अन्त्यसम्म उपचारमा रहेका बिरामीको प्रकोप दर देशभर ०.८८ हुँदा मधेशमा १.२८ पुगेको छ ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख उमेश साहले मधेश प्रदेशका १३६ पालिकामध्ये हालसम्म ४५ पालिका मात्र कुष्टरोगमुक्त घोषित भएको जानकारी दिए । पर्सा, सिरहा र जनकपुरधाम क्षेत्र अति उच्च कुष्टरोग जोखिम क्षेत्रका रूपमा रहेको उनले बताए ।

ई.स. २०१९ देखि हालसम्म २७ प्रतिशत कुष्टरोगी निको भए पनि कुष्टरोगका कारण हुने अपाङ्गता दर अझै उच्च रहेको प्रमुख साहले बताए ।
७३ औँ कुष्टरोग दिवसको अवसरमा महोत्तरी, सिरहा, धनुषा र सर्लाहीसहित ६ स्थानमा स्वास्थ्य शिविर आयोजना गरिएको उनले जानकारी दिए ।

साहका अनुसार प्रदेश सरकार र स्थानीय सरकारले कुष्टरोग नियन्त्रणका लागि बजेट छुट्याउन आवश्यक रहेको छ । साथै सामाजिक स्तरमा पनि कुष्टरोगीहरुलाई हेप्ने र घृणाको भावनाले हेर्ने प्रवृतिलाई सुधार गर्न आवश्यक रहेको जनस्वास्थ्य प्रमुख साहको भनाई छ ।

यो समाचारमा

जनकपुरमधेश प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...