काठमाडौँ ।
आज १७ जनवरी, विश्व इतिहासमा आजको दिन विभिन्न महत्वपूर्ण सामाजिक तथा राजनीतिक घटनाहरू भएका थिए । प्रस्तुत छ आजका केही प्रमुख घटनाहरू:
सन् १९१७: अमेरिकाद्वारा तीन टापु खरिद
आजकै दिन अमेरिकाले डेनमार्कबाट सेन्ट थोमस, सेन्ट जोन र सेन्ट क्रोइक्स नामक तीनवटा टापु दुई करोड ५० लाख डलरमा खरिद गरेको थियो ।
सन् १९४६: सुरक्षा परिषद्को पहिलो बैठक
विश्वकै सबैभन्दा शक्तिशाली संस्था मानिने संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को पहिलो बैठक आजकै दिन बसेको थियो । यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाबारे निर्णय गर्दछ ।
सन् १९९५: जापानमा शक्तिशाली भूकम्प
जापानको कोबी शहरमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा ६,४३४ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।
सन् १९९८: क्लिन्टन-लेवेन्स्की यौनकाण्ड सार्वजनिक
तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र मोनिका लेवेन्स्कीबीचको यौनकाण्ड आजकै दिन सार्वजनिक भएको थियो । अमेरिकी पत्रकार म्याट ड्रजले आफ्नो वेबसाइट ‘ड्रज रिपोर्ट’ मार्फत यसको पर्दाफास गरेका थिए ।
सन् २०१९: भारतीय धर्मगुरु राम रहिमलाई जन्मकैद
पत्रकार हत्याको अभियोगमा भारतका विवादास्पद धर्मगुरु राम रहिम सिंहलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।
सन् २०२५: २२ हजार वर्ष पुरानो ढुवानी साधनको प्रमाण फेला
मानव निर्मित ढुवानी साधनको हालसम्मकै पुरानो प्रमाण (२२ हजार वर्ष पुरानो) आजकै दिन न्यू मेक्सिकोमा फेला परेको थियो ।