काठमाडौँ।
सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् । सभामुख घिमिरेले भने, "यस्ता पर्वले लोकतान्त्रिक मूल्य र सहअस्तित्वको भावनालाई थप सुदृढ पार्छन् ।"
उनले थारु समुदायले नयाँ वर्ष, मगर समुदायले राष्ट्रिय पर्व र नेवार समुदायले ‘घ्यूचाकु सँल्हु’ का रूपमा मनाउने यो पर्वले नेपालको साझा राष्ट्रिय पहिचानलाई झल्काउने बताए ।
जाडोलाई बिदाइ गर्दै न्यानोपन र नयाँ ऊर्जाको सन्देश दिने यो पर्वले सबै नेपालीमा सकारात्मक सोच र समृद्धिको मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भनी उनले शुभकामना व्यक्त गरेका छन् ।