काठमाडौँ
सुनसरीमा चिसो बढेसँगै शीतलहरको प्रभावले विद्यालयको पठनपाठन प्रभावित बनेको छ। त्यसैको प्रभावमा जिल्ला भरीका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएको छ।
स्थानीय तहहरूले यही पुस १६ देखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। ईटहरी उपमहानगरपालिकाले वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको जनाएको छ।
उपमहानगरका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्नुपर्ने आवश्यकता परेको हो।
सुनसरीका इनरुवा नगरपालिका, दुहबी नगरपालिका, कोशी गाउँपालिका, हरिनगर–रामधुनीलगायत अन्य स्थानीय तहका विद्यालयहरू पनि वार्षिक बिदाबाट कट्टा हुने गरी बन्द हुनेछन्।
स्थानीय प्रशासनले अभिभावकहरूलाई बालबालिकालाई घरमै न्यानो अवस्थामा राख्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।