काठमाडौँ
इजरायलको उत्तरी क्षेत्रमा भएको शंकास्पद प्यालेस्टिनी गाडी ठक्कर र छुरा प्रहार आक्रमणमा दुई जनाको मृत्यु भएको छ। इजरायली प्रहरीका अनुसार आक्रमणकारीले पूर्वी सहर बेइत शेनमा एक पैदलयात्रीलाई गाडीले ठक्कर दिएका थिए भने त्यसपछि करिब १२.५ किलोमिटर टाढा आइन् हारोद नजिक एक युवतीलाई छुरा प्रहार गरेका थिए। अन्ततः आक्रमणकारीलाई अफुला सहरबाहिर एक सर्वसाधारणले गोली हानी घाइते बनाएको प्रहरीले जनाएको छ।
ठक्करबाट ६८ वर्षीय शिम्शोन मोर्देखाईको मृत्यु भएको छ भने १६ वर्षीय एक किशोर घाइते भएका छन्। छुरा प्रहारबाट १८ वर्षीया अविभ माओरको ज्यान गएको छ। इजरायली रक्षा मन्त्री इस्राएल काट्जका अनुसार आक्रमणकारी पश्चिम किनाराको काबातिया गाउँका बासिन्दा हुन्। घटनापछि इजरायली सेनाले काबातिया क्षेत्रमा कडा सैन्य कारबाहीको तयारी गरेको जनाएको छ।
यस घटनाको एक दिनअघि मात्र एक इजरायली सैनिक रिजर्भिस्टले प्रार्थनामा बसेका एक प्यालेस्टिनीलाई क्वाड बाइकले ठक्कर दिएको भिडियो सार्वजनिक भएपछि उनलाई सेवाबाट हटाइएको थियो। पछिल्ला वर्षहरूमा पश्चिम किनारामा इजरायली बस्तीवासीबाट प्यालेस्टिनीमाथि आक्रमण बढ्दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। सन् २०२३ अक्टोबर ७ पछि गाजा र पश्चिम किनारामा हिंसात्मक घटनामा हजारौं मानिसको ज्यान गएको तथ्यांक सार्वजनिक गरिएको छ।