काठमाडौँ।
गणतन्त्र कोरियामा दक्ष (सीपयुक्त) कामदारका रूपमा जानका लागि रोकिएको E-7 भिसा प्रक्रिया पुनः सञ्चालनमा आएको छ । वैदेशिक रोजगार विभागले गत भदौ ३१ गते सूचना जारी गरी लगाएको रोक उच्च अदालत पाटनको आदेशपछि आइतबारदेखि फुकुवा भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ जारी गर्दै म्यानपावर कम्पनीमार्फत E-7 भिसामा कामदार पठाउने प्रक्रिया अघि बढाएको थियो । तर, विभागले उक्त कार्यविधि कार्यान्वयन नगर्ने भन्दै प्रक्रियामा रोक लगाएको थियो ।
विभागको उक्त निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले रोक लगाउने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतको सोही आदेशअनुसार विभागले रोक फुकुवा गर्दै कार्यविधि कार्यान्वयनको प्रक्रिया पुनः सुरु गरेको हो ।
यो निर्णयसँगै E-7 भिसा अन्तर्गत कोरिया जानका लागि तयारी गरिरहेका हजारौं नेपाली दक्ष युवाहरूलाई ठूलो राहत मिलेको छ । अब म्यानपावर कम्पनीहरूले पुनः मागपत्र प्रमाणीकरण गरी दक्ष कामदार कोरिया पठाउन पाउने बाटो खुलेको छ ।
कोरियाले हालसम्म रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत मात्रै नेपालसहित १७ देशबाट कामदार लैजाँदै आएकोमा E-7 भिसाले दक्ष र सीपयुक्त कामदारका लागि नयाँ अवसर सिर्जना गरेको थियो ।