काठमाडौँ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) बाट एक-एक जनालाई समावेश गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।
मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नवनियुक्त मन्त्रीहरूलाई आजै पद तथा गोपनीयताको शपथ गराएका छन् ।
नयाँ मन्त्रिपरिषद्मा जनमत पार्टीका महेश प्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका जंगीलाल राय र नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री बनेका कनिस पटेलको भने मन्त्रालय तोक्न बाँकी रहेको छ ।
मुख्यमन्त्री यादवले गठबन्धनमा रहेका दलहरूलाई समेटेर प्रारम्भिक चरणमा सानो आकारको मन्त्रिपरिषद् बनाएका हुन् । आगामी दिनमा गठबन्धन दलहरूसँगको छलफलपछि मन्त्रिपरिषद्लाई पूर्णता दिइने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।