काठमाडौँ
सन् २०२५ को शुरुमा चिनियाँ सौर्य उपकरण निर्माता कम्पनी लोंगी ले विश्वकै सबैभन्दा दक्ष सौर्य सेल निर्माण गरेको घोषणा गरेको थियो। यस हाइब्रिड इन्टरडिजिटेड ब्याक-कन्ट्याक्ट (एचआईबीसी) सेलले २७.८१% दक्षता प्राप्त गरेको छ, जसलाई जर्मनीको इन्स्टिच्युट फर सोलर एनर्जी रिसर्च हामेलिन (आईएसएफएच) ले प्रमाणित गरेको छ।
यस अनुसन्धानले सौर्य प्रविधिलाई अझ प्रभावकारी बनाउन आवश्यक प्राविधिक विवरणहरू साझा गरेको छ। परम्परागत सौर्य सेलहरूले प्रायः २६% दक्षता मात्र दिन्छन्, जसले सूर्यको प्रकाशलाई विद्युत ऊर्जा मा रूपान्तरण गर्ने दर हो। नयाँ एचआईबीसी सेलले यो सीमा नजिक पु¥याएको छ, जबकि सिंगल-जंक्शन सिलिकन सेलको सैद्धान्तिक अधिकतम सीमा लगभग ३०% र शोक्ले-क्विसर सीमा ३३.७% हो।
सर्वाधिक चुनौती भनेको फील फ्याक्टर (एफएफ) लाई सुधार गर्नु हो, जुन सौर्य सेलको प्रदर्शन मापन गर्ने मापदण्ड हो। उच्च एफएफ ले विद्युत प्रवाह सहज र प्रभावकारी भएको जनाउँछ, जबकि कम एफएफ ले आन्तरिक रूपमा ऊर्जा गुमाइरहेको जनाउँछ। लोंगी का अनुसन्धानकर्ताहरूले यस समस्याको समाधान दुई प्रमुख नवप्रवर्तनमार्फत गरेका छन्। पहिलो, ब्याक-कन्ट्याक्टको नयाँ डिजाइन र लेजर प्रयोग गरेर विद्युत प्रवाहको मार्गलाई छिटो र कम प्रतिरोधपूर्ण बनाइएको छ।
दोस्रो नवप्रवर्तनमा उन्नत सतह उपचार र आईपिएट (इन सिटु पासिभेटेड एज टेक्नोलोजी) प्रयोग गरिएको छ, जसले रेखाहरूमा पुनः संयोजन रोक्दै सेललाई स्थिर र प्रभावकारी बनाउँछ। यस सेललाई जर्मनीको आईएसएफएच ले स्वतन्त्र रूपमा परीक्षण गरेर २७.८१% दक्षता र ८७.५५% एफएफ प्रमाणित गरेको छ। अनुसन्धानकर्ताहरूले अब विद्युत सम्पर्क सुधार र लेजर प्रक्रियालाई ठूलो मात्रामा उत्पादन गर्न अनुकूल बनाउने चरणमा काम गरिरहेका छन्।