काठमाडौँ
आर्सनल फुटबल क्लबका डिफेन्डर गेब्रियल मागल्हाएसले अन्तर्राष्ट्रिय जिम्मेवारी निभाउने क्रममा प्राप्त थाइ इन्जुरीका कारण केही हप्ता मैदानबाहिर रहनुपर्ने अवस्था आएको छ। उनी ब्राजिल र सेनेगलबीचको मैत्रीपूर्ण खेलमा चोटग्रस्त भएका थिए र उपचारका लागि आर्सेनल फर्किएका छन्।
प्रारम्भिक अनुमान अनुसार २७ वर्षीय गेब्रियल कम्तीमा चार हप्ता मैदानबाहिर रहन सक्छन् र उनको अनुपस्थिति जनवरीसम्म पनि फैलिन सक्ने सम्भावना छ। चोटको वास्तविक गम्भीरता र निको हुने समय निश्चित गर्न थप मूल्याङ्कन गरिँदैछ।
उनको अनुपस्थिति आगामी आइतवार हुने प्रिमियर लिग खेलमा, स्थानीय प्रतिद्वन्द्वी टोटनह्याम हट्सपर फुटबल क्लबसँग, आर्सेनलका प्रशिक्षक मिकेल आर्टेटाका लागि ठूलो झटका हो। गेब्रियलले विलियम सालिबासँग मिलेर आर्सेनलको डिफेन्सलाई मजबुत बनाएका थिए, जसले यस सिजन प्रिमियर लिगमा केवल पाँच गोल मात्र खाएको छ।
गेब्रियलको ठाउँमा पियरो हिंकापिए र क्रिस्टियन मस्क्वेरा खेल्न सक्ने सम्भावना छ। आर्सेनलका कप्तान मार्टिन ओडेगार्ड, नोनी माडुएके, गेब्रियल मार्टिनेली, काइ हावर्ट्ज र भिक्टर जोकेरेस चोटका कारण हाल अनुपस्थित छन्। यिनले पनि छिट्टै फर्कने अपेक्षा गरिएको छ, तर उत्तर लन्डन डर्बी खेलका लागि फिट हुने कि नहुने निश्चित छैन।