काठमाडौँ।
जेनजी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । घिसिङ समेतको संलग्नतामा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको भन्दै जेनजी मुभमेन्टले उनको बर्खास्तीको माग गरेको हो ।
जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय साहले आज जारी गरेको विज्ञप्तिमा ऊर्जामन्त्री घिसिङ र प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको सेटिङमा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सानी हुनेगरी गैरकानूनी विद्युत खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनतामाथि खुलेआम प्रहार गरिएको उल्लेख छ । यो सम्झौता ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री घिसिङ र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक सिलवालको मिलेमतोमा, विद्युत नियमन आयोगको स्वीकृति बिना गरिएको तथ्य प्रष्ट भइसकेको विज्ञप्तिमा उल्लेख छ । जेनजी मुभमेन्टका अनुसार यो कार्य सिधासिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री हो ।
आफ्ना मागहरू राख्दै जेनजी मुभमेन्टले भनेको छ, ‘ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ । प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ । विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।’
जेनजी मुभमेन्टले राष्ट्रघाती सम्झौतामा संलग्नहरूलाई जेल हाल्न र राज्यका सम्पत्ति फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त शुरु गर्न समेत माग गरेको छ ।