काठमाडौँ
एक्वेडरको दक्षिणी सहर माचालास्थित एल ओरो जेलमा कम्तीमा ३१ कैदी मृत फेला परेका छन्, जस मध्ये २७ जनालाई झुण्ड्याइएको बताइन्छ। आइतबार बिहान प्रारम्भिक समयमा प्रतिद्वन्द्वी ग्याङ सदस्यबीच भएको झडपमा चार कैदी मारिएका र ३० भन्दा बढी घाइते भएका थिए। त्यसपछि सुरक्षा कर्मीहरूले थप हिंसाको रिपोर्ट पाएपछि खोजी गर्दा भवनको तेस्रो तलामा अरू २७ जना मृत अवस्थामा भेटिएका थिए।
एक्वेडरका भीडभाडयुक्त जेलहरूमा पछिल्ला केही वर्षदेखि यस्तै प्रकारका हिंसात्मक दंगाहरू बारम्बार भइरहेका छन्, जसमा सयौँ कैदीहरूले ज्यान गुमाएका छन्। देशको जेल प्रशासनका अनुसार, यो झडप केही कैदीहरूलाई नयाँ बनेको जेलमा सार्ने योजनाका कारण सुरु भएको थियो। यसअघि पनि गत सेप्टेम्बरमा सोही जेलमा प्रतिद्वन्द्वी ग्याङबीचको झडपमा १३ कैदी र एक प्रहरीको मृत्यु भएको थियो।
कैदीका परिवारहरूले सरकारले तुरुन्तै जेलभित्र सुरक्षा बढाउन, प्रतिद्वन्द्वी ग्याङहरूलाई अलग राख्न र हिंसात्मक घटनाहरू रोक्न माग गरेका छन्। माचालाका बासिन्दाहरूले पनि सहरको बीच भागमा रहेको जेललाई बाहिरी क्षेत्रमा सार्न लामो समयदेखि माग गर्दै आएका छन्।
राष्ट्रपति ड्यानियल नोबोआको सरकारले यसअघि सान्ता एलेना प्रान्तमा नयाँ उच्च-सुरक्षा जेल “एल एन्कुएन्त्र्रो” निर्माणको घोषणा गरेको थियो, जुन नोभेम्बर अन्त्यसम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ। अमेरिकी विदेश विभागले गत सेप्टेम्बरमा एक्वेडरका दुई कुख्यात ग्याङ “लोस लोबोस” र “लोस चोनेरोस” लाई विदेशी आतङ्कवादी संगठनको रूपमा सूचीबद्ध गरेको थियो।