काठमाडौँ।
आज आश्विन शुक्ल चतुर्थी, अर्थात् नवरात्रको चौथो दिन। यस दिन दसैँघर वा पूजा कोठामा नवदुर्गामध्येकी चौथी कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। कुष्माण्डा देवीले आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका ताप (कुष्मा) हरण गर्ने भएकाले उनको नाम कुष्माण्डा रहन गएको मानिन्छ। विभिन्न पुराणहरूमा उहाँनलाई सुराले भरिएका घडा र रगतयुक्त पात्र धारण गर्ने देवीका रूपमा वर्णन गरिएको छ।
नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो। दोस्रो दिन मंगलबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो।
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै विश्वासका साथ वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजाआराधना गर्छन्। नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादसैँ मनाउँछन्।
दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ।
नवरात्रभरि शक्ति, ऐश्वर्य र विद्या प्राप्तिका लागि देवीको पूजा आराधना गर्ने धार्मिक विश्वास छ। यस अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो लाग्ने गर्छ।