काठमाडौँ ।
यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा असोज १ गतेदेखि जरिवाना वा कारबाही गरिने भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेको छ। विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलिएको 'जरिवाना र जेल सजाय' सम्बन्धी प्रचारमा कुनै सत्यता नभएको विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।
विभागका अनुसार तत्कालका लागि कुनै पनि प्रकारको दण्ड जरिवाना नगरिने भएको छ। बरु, विभागले सवारीधनीहरूलाई आफू अनुकूलको यातायात कार्यालयमा गएर स्वेच्छाले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटाइजेसन कार्यमा सहयोग गर्न अनुरोध गरेको छ। यसका लागि विभाग र प्रदेश कार्यालयहरूमा आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको जनाइएको छ।
इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने भाषाका सम्बन्धमा पनि विभागले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट अग्रेजी लिपी प्रयोगमा कुनै संवैधानिक वा कानुनी त्रुटि नदेखिएको भनी फैसला भएको स्पष्ट पारेको छ।
यसअघि, इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको र यसलाई जडान नगरे कानुनी कारबाही हुने भन्दै अफवाह फैलिएको थियो, जसलाई विभागले खण्डन गरेको छ। विभागले सम्पूर्ण सवारीधनीहरूलाई ढुक्क भएर सेवा लिन र भ्रममा नपर्न आग्रह गरेको छ।