काठमाडौँ ।
अर्बपति एलन मस्कले आफ्नो कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप एक्सएआई (xAI) ले एप्पलविरुद्ध कानुनी कारबाही गर्ने घोषणा गरेका छन्। उनले एप्पलले आफ्नो एपस्टोरमा प्रतिस्पर्धा विरोधी (एन्टिट्रस्ट) नियम उल्लंघन गर्दै ओपनएआईलाई अनुचित फाइदा पुर्याएको आरोप लगाएका छन्।
सोमबार आफ्नो सामाजिक सञ्जाल एक्समा मस्कले लेखेका छन्, “एप्पल यस्तो ढंगले व्यवहार गर्दैछ जसले ओपनएआई बाहेक कुनै पनि एआई कम्पनीलाई एप स्टोरमा #1 स्थानमा पुग्न असम्भव बनाइदिन्छ, जुन स्पष्ट रूपमा एन्टिट्रस्ट उल्लंघन हो। एक्सएआईले तत्काल कानुनी कारबाही गर्नेछ।”
मस्कले आफ्नो दाबीको समर्थनमा कुनै प्रमाण भने प्रस्तुत गरेका छैनन्। हाल अमेरिकामा एप्पलको एप स्टोरको ‘टप फ्री एप्स’ सूचीमा ओपनएआईको च्याटजीपीटी पहिलो स्थानमा छ भने एक्सएआईको ग्रोक पाँचौँ स्थानमा र गुगलको जेमिनी ५७ औं स्थानमा छ। एप्पलको ओपनएआईसँग साझेदारी रहेको छ, जसअन्तर्गत च्याटजीपीटीलाई आइफोन, आइप्याड र म्याकजस्ता डिभाइसहरूमा एकीकृत गरिएको छ।
मस्कले अर्को पोस्टमा एप्पलको एप स्टोरको ‘मस्ट ह्याभ’ सेक्सनमा आफ्नो एपलाई नराखिएकोमा पनि आपत्ति जनाएका छन्। उनले लेखेका छन्, “जब एक्स विश्वकै #1 समाचार एप हो र ग्रोक सबै एपहरूमा #5 छ, तब तपाईं किन एक्स वा ग्रोकलाई ‘मस्ट ह्याभ’ सेक्सनमा राख्न अस्वीकार गर्नुहुन्छ? के तपाईं राजनीति खेल्दै हुनुहुन्छ?”
मस्कको यो टिप्पणी यस्तो समयमा आएको हो, जतिबेला नियामक निकाय र प्रतिस्पर्धीहरूले एप्पलको एप स्टोरमाथिको नियन्त्रणमाथि कडा निगरानी बढाइरहेका छन्। गत अप्रिलमा एक अमेरिकी न्यायाधीशले ‘फोर्टनाइट’ निर्माता एपिक गेम्सले दायर गरेको मुद्दामा एप्पलले अदालतको आदेश उल्लङ्घन गरेको ठहर गरेका थिए।
त्यसैगरी, युरोपेली संघको एन्टिट्रस्ट निकायले पनि गत अप्रिलमा एप्पललाई ५० करोड युरो जरिवाना लगाएको थियो। एप्पलले विकासकर्ताहरूलाई एप स्टोर बाहिर अन्य माध्यमबाट सस्तो डिलहरू दिनबाट रोकेर प्रतिस्पर्धा कानूनको उल्लंघन गरेको निष्कर्ष निकालिएको थियो।