काठमाडौँ ।
गोरखा सेवा समाज कतारले गोरखाकी श्रमिक काउन्सेलर सीता दुवाडीलाई सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
नव निर्वाचित अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा कर्नेशस्थित समुद्री तटीय क्षेत्रमा डुङ्गा शयर गर्दै कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा दुवाडीलाई दोसल्ला, खादा र सम्मानपत्र प्रदान गर्दै हार्दिक सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख संरक्षक श्रीकृष्ण भट्टराई, संरक्षक राकेश श्रेष्ठ, बुधबल गुरुङ, सल्लाहकार ओमराज गुरुङलगायत करिब ४५ जनाको सहभागिता थियो। श्रमिक काउन्सेलर दुवाडीले आफू गोरखाकी चेली भएकोले प्रवासमा आफ्ना जिल्लावासीहरू भेट्दा बाल्यकालको सम्झना आएको बताइन्। साथै, कतारस्थित नेपाली श्रमिकहरूले कुनै समस्या भए बिना हिच्किचाहट आफूलाई सम्पर्क गर्न आग्रह गरिन्।

संस्थाले जिल्लाका अस्पताल, विद्यालय, मानव सेवा केन्द्र लगायतका सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिइयो। साथै, विभिन्न चाडपर्व, धार्मिक र सांस्कृतिक कार्यक्रममार्फत प्रवासमा रहेका गोरखालीबीच एकता र भाइचाराको सन्देश फैलाउने कार्य भइरहेको संस्थाले जनाएको छ। अन्त्यमा अध्यक्ष विकास श्रेष्ठले सबै सहभागीप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।