काठमाडौँ,जेठ २५।
झापाको कमल गाउँपालिकामा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी बलका एक नायब निरीक्षक (सई) को मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–३ सानो केर्खामा भएको दुर्घटनामा इलाममा कार्यरत सई पुरनलाल राजवंशीको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार,बिर्तामोड नगरपालिकाबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो।
अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक राजवंशी इलामस्थित सशस्त्र प्रहरी बल नेपालको ९ नम्बर बीओपीमा कार्यरत थिए।