काठमाडौँ,असार ४ ।
स्याङग्जामा आँधीखोला नदीमा भइरहेको अवैध उत्खनन्को विरोध गर्ने संरक्षण अभियन्तामाथि वडाध्यक्षसहितको समूहले रड प्रहार गरी कुटपिट गरेको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने आक्रमणमा संलग्न वडाध्यक्ष फरार छन्।
वडा प्रहरी कार्यालय वालिङले कुटपिटमा संलग्न रहेको आरोपमा वालिङ नगरपालिका–८ का साजन पंगेनीलाई पक्राउ गरी अदालतबाट सात दिनको अनुसन्धान म्याद लिएको छ। तर, आक्रमणको मुख्य योजनाकार मानिएका वालिङ–१० का वडाध्यक्ष सुनिल खनाल भने फरार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी प्रशन्नराज चौधरीले जानकारी दिए। "हामीले फरार वडाध्यक्षको खोजीकार्य तीव्र पारेका छौं," उनले भने।
मंगलबार आँधीखोला संरक्षण अभियन्ता मेघ आले र दिनकर नेपालमाथि वडाध्यक्ष खनाल र पंगेनीले बाटो छेकेर रड प्रहार गरेका थिए। पीडित आले र नेपालले दुवै जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्।
अभियन्ताहरूले स्थानीय जनप्रतिनिधि र प्रशासनकै मिलोमतोमा आँधीखोलामा गैरकानुनी रूपमा डोजर प्रयोग गरी ढुंगा, गिट्टी र बालुवाको दोहन भइरहेको भन्दै ‘आँधीखोला बचाउ अभियान’ सञ्चालन गर्दै आएका थिए। आक्रमण हुनुअघि मंगलबार नै उनीहरूले नदीमा डोजर प्रयोग गर्न नहुने र वातावरणीय अध्ययनपछि मात्र नदीजन्य पदार्थ निकाल्नुपर्ने माग राख्दै विरोध कार्यक्रम आयोजना गरेका थिए।
आक्रमणमा संलग्न भई फरार रहेका वडाध्यक्ष खनाल गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए।