काठमाडौँ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ जरङगेस्थित सिद्धिचरण लोकमार्गमा बुधबार दिउँसो सोलु जाँदै गरेको बा.प्र. ०१–००६ख ५५८१ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ४ जना यात्रु घाइते भएका छन्। बस अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा ओखलढुंगा चम्पादेवी गाउँपालिका–३ की ५० वर्षीया कुमारी माया बुढाथोकी, मानेभञ्ज्याङ–३ उवुका २५ वर्षीय सहचालक विनोद अधिकारी, सिद्धिचरण–८ का रोशन गिरी र सुनकोशी–१ बल्खुका ४२ वर्षीय सहदेव गिरी रहेका छन्। घाइतेहरूको रमाइलोडाँडास्थित मेडिका पोलिक्लिनिकमा प्राथमिक उपचार भइरहेको छ र सबैको अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनापछि बस चालक फरार भएको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ। बाँकी यात्रुहरूलाई भने सामान्य चोटपटक मात्र लागेको प्रहरीले जनाइएको छ।