काठमाडौँ,असाढ ०१ ।
सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पोखरामा सम्पन्न ‘प्रचण्ड कप राष्ट्रिय महिला भलिबल’ प्रतियोगिताको उपाधि जितेको छ। पोखरा रंगशालास्थित कभर्डहलमा शनिबार भएको रोमाञ्चक फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि उचालेको हो।
उपाधि जित्ने क्रममा एपीएफले खेलमा पूर्ण नियन्त्रण राखेको थियो। एपीएफले पुलिस क्लबलाई पहिलो सेटमा २५-१९, दोस्रो सेटमा २५-२० र तेस्रो सेटमा २५-१३ ले सहजै पराजित गर्यो। उपाधिसँगै च्याम्पियन एपीएफले नगद ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता बनेको पुलिस क्लबले ३ लाखमा चित्त बुझायो।
यसअघि शनिबार नै भएको तेस्रो स्थानको खेलमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो। न्यु डायमन्डले खेल २५-८, २५-१९ र २५-११ ले आफ्नो पक्षमा पार्दै नगद १ लाख रुपैयाँ हात पार्न सफल भयो।
प्रतियोगितामा एपीएफ क्लबकी निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले नगद ३० हजार रुपैयाँ प्राप्त गरिन्। व्यक्तिगत विधातर्फ पनि एपीएफकै खेलाडीहरूको वर्चस्व रह्यो।