सिराहा।
सिरहा सदरमुकाममा कार्यरत मालपोत कार्यालयका कर्मचारी राजकुमार रायको कोठाबाट कार्यालयका महत्वपूर्ण सरकारी कागजातहरू बरामद भएपछि मालपोत कार्यालयमा अनियमितताको शंका थप चुलिएको छ।
सिरहा नगरपालिका–७ स्थित एक कोठामा भाडामा बस्दै आएका राय बिहीबार एक महिलासँग आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ परेका थिए। त्यसपछि प्रहरीको टोलीले शुक्रबार रायको कोठामा छापा मार्दा मालपोत कार्यालयका कागजातको ठेलीहरू फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासमानका अनुसार, एक महिलाले प्रहरीमा उजुरी दिएकी थिइन्, जसमा रायले आफूलाई लामो समयदेखि शारीरिक सम्बन्धमा बाध्य बनाउँदै मानसिक यातना दिएको उल्लेख थियो। सोही उजुरीको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउपछि भएको प्रारम्भिक अनुसन्धानको क्रममा आज प्रहरी टोलीले रायको डेरामा छापा मारेको थियो। खानतलासीका क्रममा मालपोत कार्यालयका आधिकारिक कागजातहरूको ठूलो संख्यामा फाइल तथा ठेलीहरू फेला परेको डीएसपी पासमानले जानकारी दिए।
खानतलासीको क्रममा स्थानीय वडाध्यक्ष समेत रहेका सिरहा नगरपालिका–७ का विनोद यादव पनि उपस्थित थिए। वडाध्यक्ष यादवले भने, “सरकारी कागजातहरू कार्यालयबाहिर राख्नु गैरकानुनी हो। तर, रायको कोठाबाट मालपोत कार्यालयसँग सम्बन्धित थुप्रै कागजात फेला परेका छन्, जुन गम्भीर विषय हो।”
यस घटनापछि मालपोत कार्यालयभित्र कागजपतरको हेरफेर, व्यक्तिगत स्वार्थमा सरकारी दस्तावेजको प्रयोग तथा भ्रष्टाचारको आशंका समेत उठेको छ। प्रहरीले बरामद कागजातलाई जफत गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताएको छ। साथै, रायमाथि सरकारी दस्तावेजको दुरुपयोग तथा व्यक्तिगत लाभका लागि अनाधिकृत स्थानमा कागजात राखेको विषयमा मुद्दा अघि बढाउने तयारी भइरहेको स्रोतले जनाएको छ।
स्थानीय स्तरमा मालपोत कार्यालयमा सेवाग्राहीले लामो समयदेखि काममा ढिलासुस्ती र फाइल हराउनेजस्ता गुनासो गरिरहेकै बेला यो घटना सार्वजनिक भएपछि सरकारी संयन्त्रमाथि थप प्रश्न उठेको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ र छानबिनपछि दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेको छ।