काठमाडौँ, जेठ ३० ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्। बिहीबार सम्पन्न २४औँ राष्ट्रिय महाधिवेशनको निर्वाचनमा उनले आफ्ना प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पराजित गरेका हुन्।
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा विद्युतीय मेसिनमार्फत भएको मतदानमा कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले ७२४ मत पाएका थिए।
महाधिवेशनबाट खुला उपाध्यक्षमा विकास श्रेष्ठ ७०८ मतसहित र महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी ७७५ मतसहित विजयी भएका छन्। महासचिव पदमा दीपक धामीले ७८५ मत प्राप्त गरी जित हासिल गरे भने उपमहासचिवमा कमलले सर्वाधिक ८१६ मत प्राप्त गरी निर्वाचित भए।
त्यसैगरी, चार सचिव पदमा आकाश घर्ती मगर (३६० मत), रचना सापकोटा (३०४ मत), समिम बाबु खान (२७३ मत) र गोपाल नेपाल (२६८ मत) विजयी भएका छन्।