काठमाडौं । गणेश नेपालीको मृत्युको घटनालाई लिएर विपक्षी दलहरूले सरकारको तीव्र आलोचना गर्दै यसको नैतिक तथा राजनीतिक जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै विपक्षी सांसदहरूले राज्यका निकायले समयमै नागरिकको गुनासो सम्बोधन गर्न नसक्दा यस्तो दुःखद घटना भएको भन्दै सरकार जवाफदेही हुनुपर्ने बताएका हुन् । उनीहरूले नागरिक आफ्ना समस्या राख्न बाध्य भएर चरम कदम चाल्नुपर्ने अवस्था आउनु राज्य संयन्त्रको असफलता भएको टिप्पणी गरेका छन् । सांसदहरुले नेपालीको निधन सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
कांग्रेस सांसद वासना थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासमा सरकार किन मौन भनी प्रश्न गरिन । उनले प्रधानमन्त्री शाहलाई भनिन, ‘राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईं आज किन टाढा हुनुहुन्छ ?’ उनले सुकुमवासीलाई पनि नदीमा हाम फाल्न बाध्य हुनुपर्ने वातावरण बनाइएको बताइन् ।
एमाले सांसद भूमिका लिम्बू सुब्बाले पनि गणेश नेपालीमाथि मोटरसाइकल पार्किङ गरेका कारण १० हजार रुपैयाँ जरिवाना गरिएकै कारण आत्मदाहको प्रयास गरेको भन्दै यस्तो वातावरण बनाउनु दुःखद् भएको बताइन् । ‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले भनिन् ।
सांसद पार्वती विकले गणेश नेपालीजस्ता नागरिकले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको भन्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिन । सांसद राधिका रम्तेलले पनि मृतक नेपालीको घटनाका विषयमा छानबिन हुनुपर्ने बताइन् ।
सांसद नरबहादुर बिष्टले बालेन शाह नेतृत्वको सरकारलाई राष्ट्र जलाएर आएको राक्षसी सरकारको संज्ञा दिएका छन् । बिष्टले मुगुका गणेश नेपालीको आत्मदाहको घटनाको निष्पक्ष छानबिन गर्न र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरे ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्टाटस संसद्मा पढेर सुनाउँदै गणेश नेपालीको आत्मदाहको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।
राप्रपा सांसद ज्ञानबहादुर शाहीले गरिब, दुःखी जनता राजधानीमा बाँच्न नसक्ने वातावरण बनेको बताए । सुविधा र व्यवस्था हुनेखानेका पक्षमा मात्र रहेको बताउँदै युरोपमाभन्दा बढी कर तिरेर सोमालियामा जस्तै सेवा सुविधा पाउन नागरिक बाध्य भएको बताए ।