काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा मासिक दुई अर्बभन्दा बढी रकम दाबी हुन थालेपछि सरकारले भुक्तानी गर्न नसक्ने अवस्था आएको बताएकी छन् ।
बिहीबार गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३० औं वार्षिकोत्सवमा बोल्दै मन्त्री गौतमले चालु आर्थिक वर्षमा बीमाका लागि छुट्याइएको सम्पूर्ण बजेट गत वर्षकै ऋण तिर्नमा सकिएको खुलासा गरिन् । "यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिर्दैमा ठिक्क भयो । महिनाको दुई अर्ब खर्च हुने स्थिति आयो, त्यो दिनसक्ने अवस्था छैन," उनले भनिन् ।
मन्त्री गौतमले बीमा कार्यक्रममा विनियोजित बजेटभन्दा दाबी रकम अत्यधिक बढेकाले यसको पुनर्संरचना गर्न आवश्यक रहेको बताइन् । उनले बीमा कार्यक्रमलाई सुधार गर्न मन्त्रालयले काम गरिरहेको जानकारी दिइन् ।
हाल स्वास्थ्य बीमा बोर्डले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ । लामो समयदेखि भुक्तानी नपाएपछि ठूला सरकारी अस्पतालहरूले बीमा अन्तर्गतका सेवाहरू बन्द गर्ने घोषणा गरिसकेका छन्, जसले गर्दा बीमा कार्यक्रम नै संकटमा परेको छ ।